अवैध लागू औषधसहित १० जना पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित १० जनालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ मधुमारबाट अवैध लागू औषध गाँजा ४ सय ५० ग्राम र नियन्त्रित लागू औषध ट्रामाडोल ७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय मोहमद कलिमसमेत ४ जनालाई बिहीबार राति पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले कलिमको घर तलासी गर्ने क्रममा उक्त लागू औषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यता कञ्चनपुर, पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित बैतडी पाटन नगरपालिका–६ बस्ने २८ वर्षीय कमल भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै बारा कोल्हवी नगरपालिका–६ प्रसौनाबाट अवैध लागू औषध गाँजा करिब ५ सय ५१ ग्राम सहित सोही ठाउँ बस्ने बच्चा बाबु चौधरी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिहोर्वाबाट खटिएको प्रहरीले बच्चा बाबुको पसल तलासी गर्दा उक्त लागू औषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

दाङको लमही नगरपालिका–५ रातोडाँडाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने घोराही उपमहानगरपालिका–१७ घर भएका २७ वर्षीय सुशिल घर्तीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै सिन्धुलीको मरिण गाउँपालिका–७ देउजोरबाट नियन्त्रित लागू औषध ट्रामाडोल १ सय ५४ ट्याब्लेट सहित २ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका–२ बस्ने २३ वर्षीय राम बहादुर डिमदोङ र २२ वर्षीय साजन तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले प्रदेश ३–०२–००६ प ३०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ