सत्येन्द्र राम र नेहा रौनियारमाथि भएको अत्याचारबारे छानबिन गर्न संसदीय समिति गठनको माग


काठमाडौं-राज्यसंयन्त्रबाटै अन्तरजातीय जोडीमाथि भएको अत्याचार भएको भन्दै नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले छानबिन गर्न संसदीय समिति माग गरेका छन्।
सांसद बरालीले आइतबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीमाथि भएको अत्याचारबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन् ।
जातीय विभेदजन्य घटनाका कारण समृद्धिको कुरा गर्न नपाएको भन्दै उनले भने, ‘मन मेरो पनि राष्ट्र निर्माण र समृद्धिको कुरा गर्ने छ । तर जातीय विभेदजन्य घटनाका कुरा गर्नुपर्नाले अरु कुरा गर्ने मौका नै कहाँ पाइन्छ र ? आज देश नै उचाल्ने गरी चर्किएको विषय छ – अन्तरजातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारको । उनीहरु अझै सुरक्षित छैनन् । कतिबेला अजित मिजारको हालत हुने हो थाहा छैन ।’

उक्त जोडिमाथि भएको अत्याचारमा संलग्न जिल्ला न्यायाधीश, एसपी, प्रहरी महानिरीक्षक लगायत सबैलाई कारबाहीको माग गर्दै सांसद बरालीले नागरिकस्तरबाट उठेको गृहमन्त्रीको राजीनामाको मागमा समेत सहमती जनाए । ‘अन्तरजातीय विवाह गर्नेलाई ३० हजार धरौटी लिने जिल्ला न्यायाधीश, गैरकानुनी रूपमा विदेश गएर पक्रने एसपी रुगम कुँवर, निर्देशन गर्ने प्रहरी महानिरीक्षक लगायतलाई कारबाही गर्न नसक्ने गृहमन्त्रीलाई सडकबाट ‘राजीनामा दे’ भन्दा हुन्न भनेर हामीले कसरी भन्ने ?’ उनले भने।

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ