किन विवादमा तानियो ‘लालीबजार’ ?


काठमाडौं । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएपछि यसको प्रदर्शन रोकिएको छ । बादी समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्‍याएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले चलचित्रको प्रदर्शन तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ‘लालीबजार’ आगामी १८ गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने पूर्वनिर्धारित तालिका थियो । तर अदालतको आदेशपछि यो रोकिएको छ ।

उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एक इजलासले तत्कालका लागि प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको उच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए। उच्च अदालतले वैशाख २२ गतेसम्म प्रदर्शन नगर्न आदेश दिएको कोइरालाले जानकारी दिए। यो फिल्मको वैशाख १८ गते रिलिज हुने तय गरिएको थियो।

आदेशमा भनिएको छ, ‘रिट निवेदनमा उठाइएका विषयवस्तुले निवेदकसमेतलार्य अपूरणीय क्षति पुग्ने देखिँदा सुविधाको सन्तुलनका आधारमा मिति २०८३/१/२२ गतेसम्म सार्वजनिक रुपमा लालीबजार नाकम चलचित्र प्रदर्शन गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’ अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न उच्च अदालतले वैशाख २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

रोशनी नेपालीले दायर गरेको उक्त रिटमा चलचित्रले बादी समुदायको ऐतिहासिक संघर्ष र पीडालाई गलत ढंगले चित्रण गरी ‘ट्रमा पोर्न’ का रूपमा प्रस्तुत गरेको दाबी गरिएको छ । अदालतको यो आदेशसँगै देशभरका हलहरूमा प्रदर्शनका लागि तयार रहेको चलचित्रको भविष्य अन्योलमा परेको छ । चलचित्रले एउटा सिंगो समुदायलाई अपमानित गरेको र समाजमा नकारात्मक सन्देश फैलाउन खोजेको उजुरीकर्ताको तर्क छ । अर्कोतर्फ, प्रदर्शनको अन्तिम समयमा आएर रोक लगाइँदा निर्माताको करोडौँको लगानी जोखिममा परेको भन्दै चलचित्रकर्मीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सिर्जनात्मक स्वतन्त्रतामाथि अंकुश लगाउन नहुने भन्दै सिनेकर्मीहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन समेत गरेका छन् ।

ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई लिएर बादी समुदायबाट आलोचना भएको छ । डा. रोशनी नेपाली बादीले फिल्ममा समेटिएको विषयवस्तुमा आपत्ति प्रकट गरेकी थिइन् । उनले पत्रकार सम्मेलन गरेरै फिल्म प्रदर्शन रोक्न माग गरेकी थिइन् । उनले दलित आयोगमार्फत चलचित्र विकास बोर्डमा पत्राचार भएको समेत बताएपछि यो विवाद सतहमा आएको थियो ।

यो विवादले अहिले नेपाली चलचित्र क्षेत्रमा ‘सिर्जनात्मक स्वतन्त्रता’ र ‘सामाजिक उत्तरदायित्व’ बीचको बहसलाई फेरि सतहमा ल्याइदिएको छ । चलचित्रले यथार्थ घटना बोलेको निर्माण पक्षको दाबी रहे पनि समुदायको संवेदनशीलतालाई ध्यान नदिएको आरोप लागेको छ । अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको र आगामी सुनुवाइपछि मात्रै चलचित्र प्रदर्शन हुने वा नहुने भन्नेबारे अन्तिम फैसला हुनेछ ।

षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्म बर्दियाको राजापुरमा छायाङ्कन गरिएको हो । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय छ । फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

यम थापाको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद निर्देशक थापा र कार्यकारी निर्माता प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रबिन्द्र सिंह बानियाँ निर्माता हुन् । फिल्मले बादी समुदायको कथा उठाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ