डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु


काठमाण्डौं । डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरू भएको छ ।

महान्यायाधिवक्ता कार्यालयको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म चल्ने छ । सम्मेललमा १३ देशका प्रतिनिधिहरूको सहभागिता छ । सम्मेलनमा नेपाल, भारत, चीन, श्रीलंका, बेलायत लगायत देशका अनुसन्धानकर्ता, अपराधशास्त्री, एआई विशेषज्ञ, अभियोजक, कानूनविज्ञ तथा न्यायाधीश सहभागी छन् ।

सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले डिजिटलको माध्यमबाट हुने सबै प्रकारका अपराधहरूलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान तथा न्याय निरुपणका विषयमा सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ । यसले देशकै अर्थतन्त्रमा असर गर्छ ।’

डिजिटलको माध्यमबाट हुने अपराधहरूको मुद्दा अहिले अदालतमा बढ्न थालेको भन्दै उनले यसका लागि विभिन्न सामाजिक सञ्जालहरूलाई स्वदेशको कानुनमा आधारित रहेर दर्ता हुन जरूरी रहेको बताइन् ।

उद्घाटनपछि डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान तथा न्यायनिरुपणका विषयमा छलफल हुने महान्यायाधिवक्ता रमेश बडालले जानकारी दिए । अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र संस्थागत क्षमता सुधारका उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।

सम्मेलनमा सहभागी विज्ञहरुले ‘डिजिटल युगका अपराधहरु स् पूर्वानुमान र त्यसमाथिको सम्बोधन’ भन्ने अवधारणामा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।

प्रविधिमा आधारित अपराधहरू बढ्दो क्रममा रहेको र त्यसले समाजमा चुनौती थपेकाले सम्बोधनका लागि सम्मेलन आयोजना गरिएको महान्यायाधिवक्ता बडालले बताए ।

सम्मेलन प्रविधिमा आधारित भएर हुने यौन हिंसा र दुव्र्यवहार, साइबर अपराध, क्रिप्टोकरेन्सी र डिजिटल आर्थिक अपराध, एआईको प्रयोगबाट हुने अपराधहरूका विषयमा केन्द्रित हुनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ