

काठमाडौं । नेपाल बार एसोसिएसनको महाधिवेशनमा सत्तारूढ दुई दलस् नेपाली कांग्रेस र नेकपा एमाले निकट वकिलहरूले गठबन्धन गरेका छन्।
बिहीबार जारी उम्मेदवारी दर्तामा कांग्रेस निकट कानुन व्यवसायीहरूको संगठन डिएलए र एमाले निकट कानुन व्यवसायीको संगठन पीपीएलएले संयुक्त रूपमा उम्मेदवारी दिने भएको हो।
एमाले कानुन विभागका अध्यक्ष धर्म रेग्मीका अनुसार बारको अध्यक्षमा डिएलएका तर्फबाट विजयप्रसाद मिश्रको उम्मेदवारी दर्ता हुने भएको छ भने महासचिवमा पिपीएलका तर्फबाट केदार कोइरालाले उम्मेदवारी दिने भएका छन्।
मिश्र नेपालवारका अघिल्लोपटकका महासचिव हुन् भने कोइरालाले यसअघिको महाधिवेशनमा महासचिव नै प्रतिस्पर्धा गरेर पराजित भएका थिए।
दुवै संगठनले अरु पार्टी निकट कानुन व्यवसायीहरूसँग मिलेर गठबन्धन गर्ने तयारी गरिरहेका बेला सत्तारुट दलका शीर्ष नेताहरुले नै बारमा गठबन्धन गरेर अगाडि बढ्न निर्देशन दिएका हुन्।
दुई ठूला संगठनले सबै पदहरू बराबरी बाँडेर उम्मेदवारी दिने तयारी भइरहेको डीएलएका एक नेताले जानकारी दिए।
त्यस्तै, कांग्रेस एमाले वकिलहरूले गठबन्धन गरेपछि विपक्षमा रहेका दलहरू निकट वकिलहरूले पनि गठबन्धन गर्ने भएका छन्।
विपक्षीमा माओवादी निकटका कानुन व्यवसायीहरूको संगठनका तर्फबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।
त्यस्तै, महासचिवमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट कानुन व्यवसायी संगठनका संयोजक यज्ञमणि न्यौपानेको उम्मेदवारी पर्ने भएको छ। अरु पदहरूमा एकीकृत समाजवादी, राप्रपा निकट कानुन व्यवसायीहरूको कानुन व्यवसायीहरूले मिलेर उम्मेदवारी दिने भएका हुन्।
आउँदो चैत २३ गते हुने नेपाल बारको २७औं महाधिवेशनमा ११ हजार सात सय जनाभन्दा बढी कानुन व्यवसायीहरू मतदाता रहेका छन्।
