कैलाली–५ मा मतदातासँगको प्रत्यक्ष संवादले बलियो बन्दै प्रेम आलेमगरको राजनीतिक आधार

घरदैलोमा बढ्दो समर्थन, प्रेम आले आशावादी


कैलाली । कैलाली क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रेम बहादुर आलेमगरको घरदैलो अभियान चुनावी राजनीतिमा प्रभावशाली बन्दै गएको देखिएको छ ।

गाउँ–टोल केन्द्रित अभियान, प्रत्यक्ष संवाद र इमानदार प्रस्तुतिका कारण उनीप्रति मतदाताको आकर्षण बढ्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन् । यही समर्थनले आफू थप आशावादी बनेको आलेमगरको भनाइ छ ।

पछिल्ला केही दिनयता चलेको घरदैलो अभियानमा आलेमगरले मतदातासँग सिधा संवादलाई प्राथमिकता दिएका छन् । ठूला भाषण र भीडकेन्द्रित कार्यक्रमभन्दा पनि व्यक्तिगत भेटघाट, जनगुनासा सुन्ने र व्यवहारिक समाधानका विषयमा छलफल गर्ने शैलीले मतदातामा फरक प्रभाव पारेको देखिन्छ ।

धेरै मतदाताले पुराना नेताबाट दोहोरिएको आश्वासन राजनीतिप्रति निराशा व्यक्त गर्दै नयाँ र इमानदार विकल्प खोजिरहेको संकेत दिएका छन् ।

“म जनतालाई ढाँटेर होइन, बुझेर राजनीति गर्न चाहन्छु,” आलेमगरले भने, “घरदैलोमा जनताले देखाएको विश्वासले सही बाटोमा छु भन्ने अनुभूति दिएको छ ।” उनका अनुसार चुनाव जित्नेभन्दा पनि जनताको भरोसा जित्नु दीर्घकालीन राजनीति हो ।

आलेमगरले गेटा मेडिकल कलेजलाई पाँच सय शैय्याकाे बेडकाे स्वीकृति गराएर एमबिबिएस अध्ययन र उपचारमा सहज बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरकाे फाप्ला क्रिकेट रंगशाला निर्माण, गेटा विमानस्थललाई क्षेत्रीय स्तरकाे विमानस्थल बनाई भारत, चाईना, बंगलादेश लगायतका देशहरूमा हवाई यातायात गर्न सहज बनाएका छन् ।

साथै, पर्यटन विकासमा टेवा पुर्याउने, खुटिया दिपायल उरै भन्ज्याङ सडक जति सक्दाे चाँडो निर्माण सम्पन्न गरि त्रिदेशिया नेपाल, भारत र चाईनाकाे व्यापार व्यवसाय फस्टाउनुका साथै मानसराेबर जाने तिर्थालुहरू नेपाल हुँदै जाने र त्यसले सुदुरपश्चिममा स्वराेजगार सृजना हुने उदेश्यसहित शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् ।

यी विषयहरू कैलाली क्षेत्र नं. ५ का दीर्घकालीन समस्या भएको उल्लेख गर्दै उनले केन्द्रमा पुगेर आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । राजनीतिक विश्लेषकका अनुसार यस्ता मुद्दामुखी एजेन्डाले स्थानीय मतदातामा विश्वास बढाउन सहयोग पुर्‍याएको छ ।

घरदैलो अभियानमा सहभागी स्थानीय बासिन्दाले पनि आलेमगरको सरल व्यवहार, स्पष्ट बोली र सुन्ने क्षमता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । “कम बोल्ने तर सुन्ने नेता चाहिएको थियो,” एक स्थानीय मतदाताले भने, “उनको शैली फरक लागेको छ ।” चुनाव नजिकिँदै जाँदा कैलाली क्षेत्र नं. ५ मा राजनीतिक प्रतिस्पर्धा चर्किँदै गएको छ ।

यद्यपि, प्रेम आलेमगरको घरदैलो अभियानबाट देखिएको जनसमर्थनले उनको चुनावी आधार क्रमशः बलियो बन्दै गएको संकेत देखिएको छ । यही गति कायम रहन सके परिणाममा प्रभाव पार्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ