बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीमा तनाव बढेको भन्दै चिन्ता व्यक्त


लन्डन । बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीले आर्थिक, सामाजिक एवं मानसिक तनाव भोग्ने क्रम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले बेलायत अहिले आफैं ‘रिसेसन’मा रहंदा पर्याप्त रोजगारी अभाव, जागिर पाइएपनि विद्यार्थीले पार्टटाइम काम गरेर विश्वविद्यालयको महँगो शुल्क तिर्न असमर्थ हुने र शुल्क एवं ‘असाइमेन्ट’ समयसीमाभित्र नगरे विश्वविद्यालयले भिजा रद्द गरिदिन सक्ने भएकाले विद्यार्थीलाई धेरै चुनौति थपिएको औंल्याए ।

बेलायतस्थित संस्था ब्रिज नेपालले २१ फेब्रुअरी शनिबार आयोजना गरेको एक वेबिनारमा विभिन्न क्षेत्रका विज्ञहरुले आफ्नो आर्थिक अवस्था मजवुत नभए अण्डरग्रयाजुएट पढ्न नआउन सुझाव दिए ।

वेबिनारमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले खासगरि अण्डर ग्रयाजुएट अध्ययन गर्न यूके आएका विद्यार्थीले जागिरबाहेक विश्वविद्यालयमै पनि धेरै समस्या भोग्नुपरेको बताए ।

अध्ययन उद्देश्यले आएपछि विद्यार्थीले समेत आफ्नो पढाइप्रति गम्भीर हुन आवश्यक रहेको औंल्याउंदै दुवाडीले कतिपय विश्वविद्यालयहरुले नेपाली विद्यार्थीलाई अनावश्यक दुःख दिएपछि उनीहरुका लागि ‘एनओसी’ निलम्बन गर्न सरकारले कदम चालेको बताए ।

बेलायतमा जागिर अभाव हुंदा विद्यार्थीहरुले आर्थिक, मानसिक तनाव झेल्नु परेका धेरै उदाहरण आफूहरुसँग रहेको जनाउँदै कार्यवाहक राजदूत दुवाडीले शैक्षिक परामर्शदाता कम्पनीहरुलाई नेपालमा वास्तविकताको सट्टा मिठो सपना नबांड्न आग्रह गरे । दूतावासले विद्यार्थीका समस्या समाधानमा निरन्तर काम गरिरहेको बताउंदै अध्ययन सम्बन्धि केही समस्या भए जानकारी दिन पनि उनले अनुरोध गरे ।

यसअघि दूतावासले पनि सबै सरोकारवालाहरुलाई बोलाएर नेपाली विद्यार्थीका समस्या तथा समाधानका उपायबारे अन्तरक्रिया गरेको स्मरण पनि उनले गरेका थिए ।

नेपाल बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठूलो देश बनेको छ । पछिल्ला पाँच वर्षमा ६० हजारभन्दा बढी विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओस) लिएका छन् भने सन् २०२५ मा मात्रै २० हजार बढी नेपाली विद्यार्थी बेलायत आएको तथ्यांक छ । कार्यक्रममा ब्रिज नेपालका निर्देशक डा जगन कार्कीले बेविनारको उद्देश्यबारे प्रकाश पार्दै वक्ताहरु र सहभागीलाई स्वागत गरेका थिए ।

कार्कीले नेपाली विद्यार्थीहरुले पर्याप्त जानकारी बिना ब्रिटिश विश्वविद्यालयहरुमा भर्ना हुने, ट्युशन फी, खाने बस्ने खर्चको समयमै जोहो गर्न नसक्ने, काम तथा डेराको समस्या र अध्यागमन सम्बन्धी नियमहरुबारे जानकारी अभाव सम्बन्धमा छलफल गर्न कार्यक्रम गरिएको प्रष्टयाए ।

नेपाल बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठूलो देश बनेको छ। पछिल्ला पाँच वर्षमा ६० हजारभन्दा बढी विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० लिएका छन् भने सन् २०२५ मा मात्रै २० हजार बढी नेपाली विद्यार्थी बेलायत आएको तथ्यांक छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ