काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।
उनले भने, “सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले निष्पक्ष निर्वाचनका लागि अपरिहार्य मानिएको सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाएका छौँ । सबै मतदातालाई निर्धक्क र ढुक्क भएर शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गर्दछौँ ।”
सरकारले निर्वाचन प्रहरी छनोटदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने काम गरेको उल्लेख गर्दै उहाँले एकीकृत सुरक्षा योजना लागू गरेर सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाइएको बताए।
मन्त्री अर्यालले निर्वाचनसम्बन्धी कमान्ड पोष्ट केन्द्रमार्फत प्रदेश तथा जिल्लास्तरमा रहेर काम भइरहेको, एकीकृत सुरक्षा योजनाले परिकल्पना गरेका संयन्त्रमार्फत निर्वाचन सेलहरु परिचालन गरिएको र गृह प्रशासनले दिनहुँजसो अवस्था, आवश्यकता र चुनौती विश्लेषण गरेर काम गरिरहेको जानकारी दिए । एक प्रश्नको जवाफमा हालै देखिएका केही छिटपुट झडपलगायत घटनाले निर्वाचनलाई कुनै असर नगर्ने उनको भनाइ थियो ।
ती घटना नियन्त्रणभित्रै रहेका र चुनावलाई असर नपार्ने किसिमले गृह प्रशासनले ‘ह्यान्डल’ गरिरहेको उनको भनाइ थियो ।
मन्त्री आर्यालले गत भदौको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी एवं लुटिएका हतियार अब सुरक्षा चुनौती नरहेको पनि स्पष्ट पारे । उनले भने, “धेरैजसो हतियार र भागेका कैदीबन्दी फिर्ता गरिसकेका छौँ । जेजति बाहिर हुनुहुन्छ उहाँहरूलाई पनि फिर्ता गराउन पहिलाभन्दा अझ बढी मेहनत गरिरहेका छौँ । सबैतिर सुरक्षाकर्मी परिचालित छन् र सरोकार भएकाहरूलाई पनि त्यस्तो कुनै सूचना भएमा जानकारी गराउन अनुरोध गरेका छौँ । भागेकाहरूले बाहिर गएर फेरि अपराध गरेका तथा ती हतियार प्रयोग गरेका सूचना अहिलेसम्म आएका छैनन् । अब त्यस खालको असुुरक्षाको भय छैन ।”
एक अर्को प्रश्नमा मन्त्री अर्यालले फागुन २१ गते निर्वाचन नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट पारे । वर्तमान सरकार विशेषतः चुनावी सरकार रहेकाले सोहीबमोजिम निर्वाचनलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै उनले संविधानले नै संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेकाले सरकार या कोही पनि यो चुनावबाट भाग्ने या पन्छिने कुरै नआउने बताए।
“यो निर्वाचन एक प्रकारले हाम्रो निष्ठाको जाँच नै भन्दा हुन्छ । हामीले समयमै निष्पक्ष निर्वाचन गराउने र निर्वाचित सरकारलाई प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने शपथ खाएका छौँ । चुनाव सार्ने या सर्ने भन्ने नै हुँदैन”, मन्त्री अर्यालले भने, “सबै खाले परिस्थितिलाई काबुमा राखेका छौँ र निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण प्रक्रिया पनि पूरा गरिसकेका छौँ । अब मतदानका लागि धेरै दिन बाँकी छैनन् । त्यसैले चुनाव नहुने भन्ने आशङ्का या भय कसैले पनि पाल्नु हुँदैन ।”






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
गदरियाकाे जनलहरले प्रेम आले उत्साहित
कैलारीको गदरियामा प्रेम आलेको समर्थनमा विशाल जनप्रदर्शन
प्रेम आलेको चुनावी अभियानमा पार्टी प्रवेश गर्नेको लर्को