काठमाडौं । ९ वर्षदेखि काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा एक शव मौन विद्रोहजस्तै थुनिएको छ,अजित मिजारकाे। यो केवल एउटा शव होइन, न्यायको प्रतीक्षा गरिरहेको एउटा प्रश्न हो, जसको उत्तर राज्यसँग अझै छैन।
“प्रेम गर्नु अपराध हो ?”
यो प्रश्न अजितको परिवारले मात्र होइन, सिंगो समाजले आफैंलाई सोध्नुपर्ने भइसकेको छ।
काभ्रे, पाँचखालका अजित मिजारले अन्तरजातीय प्रेमविवाह गरे र त्यसको ‘उपहार’ उनले मृत्यु पाए। २०७३ सालमा भएको उनको हत्या केवल एउटा व्यक्ति माथिको हिंसा थिएन, यो जात व्यवस्थाले दिएको सजाय थियो।
तर, कथा त्यतिमा रोकिएन।
अजितको शव अझै जलाइएको छैन। किनभने उनका बुबा हरिभक्त ढकालको अडान स्पष्ट छ
“न्याय नपाएसम्म शव उठ्दैन।”
पुस्तौंदेखिको पीडा, दोहोरिएको इतिहास
यो पीडा नयाँ होइन।

अजितका हजुरबुबा रामबहादुर ढकालले पनि प्रेमकै कारण ‘अछूत’को दर्जा भोगेका थिए। पुस्तौंदेखि समाजले दिएको अपमान, विभेद र हिंसा—अजितमा आएर झनै क्रूर रूपमा दोहोरियो।
न्यायको ढोका अझै बन्द
अजितको हत्या प्रकरणमा जिल्ला अदालत धादिङ र उच्च अदालतबाट न्याय नपाएपछि परिवार अहिले सर्वोच्च अदालत धाइरहेको छ। तर त्यहाँ पनि केवल ‘तारिख’ मात्र पाइरहेका छन्।
हरिभक्त ढकाल भन्छन्
“छोरा गुमाइसकेँ, अब न्याय पनि गुमाउन सक्दिनँ।”
तर विडम्बना न्याय पर्खिरहेको एउटा शव ९ वर्षदेखि फ्रिजभित्र थुनिएको छ, र न्याय दिने संयन्त्र भने चिसो हुँदै गएको जस्तो देखिन्छ।
बालेन सरकारलाई प्रश्न :
बालेन्द्र साह नेतृत्वको सरकारले सय दिने कार्यसूची सार्वजनिक गर्यो। न्याय, सुशासन र परिवर्तनका वाचा गरिए। तर त्यो सूचीमा अजित मिजार परेनन् ।
बालेन नेतृत्वको सरकारसँग अहिले एउटा गम्भीर प्रश्न उभिएको छ
अजित मिजारको शव कहिले उठ्छ?
अजित मिजारकाे परिवारले न्याय कहिले पाउँछ ?
यो केवल एउटा परिवारको पीडा होइन, यो राज्यको उत्तरदायित्वको परीक्षा हो।
जबसम्म अपराधीलाई कानुनी कठघरामा उभ्याइँदैन, तबसम्म अजितको शव मात्र होइन,न्याय स्वयं पनि ‘शवगृह’मै कैद रहनेछ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड