काठमाडौं। गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा यसपटक प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पदम बहादुर बि.क. (पदम विश्वकर्मा) लामो समयदेखि दलित मुक्ति आन्दोलन, पत्रकारिता र कम्युनिस्ट राजनीतिमा सक्रिय नाम हो। संगठन निर्माण, वैचारिक लेखन र प्रकाशन क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका विश्वकर्मा यसपटक आफ्नै जन्मभूमिबाट जनमतको परीक्षणमा उत्रिएका छन्।
जन्म, परिवार र शिक्षा :
वि.सं. २०३७ साल असोज ११ गते (इ.स. १७ अक्टोबर १९८०) स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ (साबिक वीरघा–६) मा जन्मिएका विश्वकर्मा शालिकराम सुनार र नैनकला सुनारका छोरा हुन्। बुवा शालिकरामको २०६१ सालमा हृदयघातका कारण निधन भएको थियो। हाल उनी ललितपुर महानगरपालिका–२४, धापाखेलमा बसोबास गर्दै आएका छन्।

राजनीति शास्त्रमा प्रथम श्रेणीसहित एम.ए. उत्तीर्ण गरेका उनले स्नातक तह त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्य लक्ष्मी क्याम्पस बाट पूरा गरेका हुन्। यसअघि आई.ए. पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट र एस.एल.सी. वीरघा स्थित जनता माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका थिए। उनले बी.ए. एल.एल.बी. पनि नेपाल ल क्याम्पस बाट अध्ययन गरेका छन्।
उनको वैवाहिक जीवन पनि राजनीतिक रूपमा चर्चित रह्यो। २०६४ सालमा दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको आयोजनामा जनवादी विवाहमार्फत ईश्वदा घिमिरेसँग विवाह गरेका विश्वकर्माका दुई सन्तान छन्।
दलित मुक्ति आन्दोलनबाट राजनीतिक यात्रासम्म :
विश्वकर्माको राजनीतिक यात्रा २०५० को दशकबाट सुरु भएको हो। २०५२ सालदेखि सञ्चालित जनयुद्ध समर्थक संगठनमार्फत उनी तत्कालीन नेपाल स्वतन्त्र दलित विद्यार्थी संगठनमा आबद्ध भए। २०५६ सालमा केन्द्रीय सदस्य र २०६० सालपछि संयोजकको जिम्मेवारी सम्हाले।
त्यसपछि उनी नेपाल दलित मुक्ति मोर्चा मा आबद्ध हुँदै २०६३ सालमा काठमाडौं जिल्ला सचिव बने। २०७५ सालमा केन्द्रीय कार्यालय सचिव हुँदै केन्द्रीय सदस्यमा पुगेका उनी हाल सोही संगठनको केन्द्रीय उपाध्यक्ष तथा प्रचार–प्रकाशन विभाग प्रमुखका रूपमा कार्यरत छन्।
सम्पादक, लेखक र प्रकाशक :
विश्वकर्मा राजनीतिक कार्यकर्तामात्र होइनन्, सक्षम सम्पादक र लेखक पनि हुन्। २०७५ सालदेखि प्रकाशित हुँदै आएको ‘दलित सन्देश’ मासिकमा प्रारम्भिक चरणमा कार्यकारी सम्पादक र पछि सम्पादक/प्रकाशकको रूपमा ५१ भन्दा बढी अंक प्रकाशनमा उनको नेतृत्व रह्यो।
त्यसैगरी ‘दलित मुक्ति’ मुखपत्र, ‘महान जनयुद्ध र दलित आन्दोलन’ पुस्तक र ‘शहीद गाथा’ (भाग–१) जस्ता कृतिहरूको सम्पादनमा उनको भूमिका छ। जनयुद्धकालमै काठमाडौंबाट प्रकाशित ‘नेपाली मंच’ मासिकमा सह–सम्पादकका रूपमा काम गरेका उनले विभिन्न पत्रपत्रिकामा दलित आन्दोलन र सामाजिक न्यायका विषयमा लेखहरू प्रकाशित गरेका छन्। हाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत सम्पर्क समन्वय प्रदेश समितिको प्रचार–प्रकाशन विभाग प्रमुख तथा ‘मेचीकाली आवाज’ चौमासिकका प्रधान सम्पादक हुन्।
कम्युनिस्ट आन्दोलन र संगठनात्मक भूमिका :
२०५६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संगठित सदस्यता लिएका विश्वकर्मा विभिन्न जिल्ला र विशेष समितिहरूमा सक्रिय रहे। २०७९ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय सदस्य बनेका उनी हाल सम्पर्क समन्वय प्रदेश कमिटीको सचिवालय सदस्य छन्। जनयुद्ध र जनआन्दोलनका क्रममा पाँच पटक हिरासतसमेत भोगेका छन्।
राजनीतिक नियुक्ति अनुभव :
२०७६ कात्तिकदेखि २०७७ फागुनसम्म तत्कालीन प्रदेश नं. २ (हाल मधेश प्रदेश) का प्रदेश प्रमुख तिलक परियार का प्रमुख स्वकीय सचिव (सह–सचिव सरह) का रूपमा जनकपुरमा रहेर काम गरेका विश्वकर्माले त्यसपछि कर्णाली प्रदेशसँग सम्बन्धित जिम्मेवारी पनि सम्हाले।
किन स्याङ्जा–२ मा उम्मेदवारी ? :
विश्वकर्मा भन्छन्— आफू समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचनमार्फत जनमत लिन चाहन्छन्। “व्यक्तिगत दाबीभन्दा यहाँका मतदाता र सहयोद्धा कमरेडहरूको आग्रहका आधारमा प्रत्यक्षतर्फ सिफारिस मागेको हुँ,” उनको भनाइ छ।

आर्थिक रूपमा आत्मनिर्भर, सार्वजनिक छविमा विवादरहित र पारदर्शी जीवनशैलीलाई आफ्नो बलियो पक्ष मान्ने विश्वकर्मा स्याङ्जा–२ मा संगठन, विचार र सामाजिक न्यायको एजेन्डा लिएर मतदातामाझ पुगेका छन्।
अब मतदाताले उनलाई कत्तिको विश्वास गर्छन् भन्ने निर्णय भने निर्वाचन परिणामले तय गर्नेछ।






नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : प्रचण्ड
प्रकाशशरण महतले सार्वजनिक गरे चुनावी प्रतिज्ञापत्र
६ दिनमा सुनको भाउ १४ हजार ४ सय बढ्यो
गगनलक्षित रविको व्यंग्य- २० वर्ष सांसद भएपछि बल्ल बाटो बनाउन कानुन फेर्ने ज्ञान आयो
‘खुला बहस छाेडेर हिँडे’ यज्ञराज ढुंगाना
निर्वाचनको मुखमै सेतीबाट ४५ कर्मचारी निष्कासन, चौतर्फी विरोध
कैलाली-३ का उम्मेदवार ‘विरमान चौधरी’ को हुन् ?
११० जना ‘नव युवा’ नेकपामा प्रवेश
धनगढीमा ‘लखन थापा’ को १४९ औँ स्मृति दिवस मनाइयो
को हुन् स्याङ्जा–२ का उम्मेदवार पदम विश्वकर्मा ?