प्रेम आलेको चुनावी अभियानमा पार्टी प्रवेश गर्नेको लर्को


धनगढी, १७ फागुन। प्रेमबहादुर आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो चुनावी अभियानलाई थप तीव्रता दिनुभएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका आलेले आज धनगढी उपमहानगरपालिका–२ मा व्यापक घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको हो।

बिहानैदेखि सुरु भएको घरदैलो अभियानमा स्थानीय टोलटोलमा पुगेर उम्मेदवार आलेले मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो।

उहाँले आगामी निर्वाचनमा विजयी भए पश्चात् कैलाली–५ का जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“म निर्वाचित भएपछि यहाँका जनताको शिर ननिहुरिने गरी काम गर्नेछु। प्रत्येक महिनामा यहाँका सबै २१ वटै वडामा पुगेर जनताको समस्या बुझ्ने र समाधानका लागि पहल गर्नेछु,” उहाँले भन्नुभयो।

अभियानका क्रममा उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, ढल निकास, खानेपानी तथा पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

यश क्षेत्रभित्र देखिएका दीर्घकालीन समस्या समाधानका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी काम गर्ने उहाँको भनाइ थियो।

युवालाई स्वरोजगारमुखी बनाउन विशेष कार्यक्रम ल्याइने, सामुदायिक विद्यालयको गुणस्तर सुधार गरिने तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। मतदाताहरूले खानेपानीको समस्या, सडक स्तरोन्नति, बेरोजगारी, कृषि उत्पादनको बजारीकरण, बाढी नियन्त्रणलगायत विषयमा आफ्ना गुनासा राखेका थिए।

उम्मेदवार आलेले ती सबै विषयलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा समाधान गर्ने आश्वासन दिनुभयो।

यसैबीच, वडा नम्बर २ मा आज करिब १०० जना युवा तथा महिलाले नेकपामा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई उम्मेदवार आले तथा पार्टीका नेता ओम पुनले खादा तथा माला लगाएर स्वागत गर्नुभएको थियो।

पार्टी प्रवेश गर्नेहरूले क्षेत्रको विकास र स्थायित्वका लागि आफूहरू नेकपामा आबद्ध भएको बताएका थिए।

चुनावी अभियानका क्रममा आयोजित कोणसभामा बोल्दै नेताहरूले कैलाली–५ लाई विकासको नमुना क्षेत्र बनाउने लक्ष्य रहेको बताएका छन ।

उनीहरूले विगतमा अधुरा रहेका योजनाहरूलाई पूर्णता दिने, कृषि तथा पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्ने तथा युवालाई विदेश पलायन हुन नपर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।

हाल कैलाली–५ मा चुनावी माहोल तातेको छ। विभिन्न दलका उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर मतदातामाझ पुगिरहेका छन्।

यसैबीच, प्रेमबहादुर आलेको सक्रिय घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमले यस क्षेत्रको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

स्थानीयवासीहरूले यसपटक विकासमुखी र जनउत्तरदायी नेतृत्व चयन गर्ने बताएका छन्।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ