अनुहार बदलिएको हो, बाहुनवाद उस्तै छ !


सुर्खेतकी १६ वर्षीया बालिका इनिशा बिक बलात्कार घटनाका सन्दर्भमा देशकै सबैभन्दा धेरै विश्वास गरिने मिडियाले मिसलिडिङ समाचार छाप्यो भनेर मैले हिजो गरेको पोस्टमा उडुसहरूले राम्रै टोकेका रहेछन्।

निर्लज्जहरू, ‘More investigation going on’ भनेर लेखेको छ त भनेर मलाई अंग्रेजी सिकाउँदै छौ। घटना भएको २३ गते हो, तिम्रो रुटिनेले २७ गते समाचार लेखेको छ। २३ गते नै बालिकाको मृत्यु भइसक्यो, परिवार हारगुहार लगाइरहेका छन्, रुटिनेले पुलिसको भाषा बोल्दै छ। ४ दिनसम्म त्यसलाई एउटी दलित बालिका बलात्कारपछि मृत भेटिएको भन्ने थाहा भएन ? सञ्चार माध्यम भएर यति गम्भीर मुद्दामा राज्य (पुलिस) को भाषा बोल्नु कति गम्भीर नैतिक अपराध हो तिमीहरूलाई थाहा छ ?
अन्य देशमा भए राष्ट्रपति र प्रधानमन्त्री लेभलबाट चासो व्यक्त भइसक्छ। मुख छाडेर गाली गरेर स्टाटस लेख्ने स्पेस हुने फेसबुकमा ४ दिन बित्दा पनि- “सुर्खेतमा १६ वर्षीया बालिका इनिशा बिकमाथि भएको घटना दुःखद र आपत्तिजनक छ। अपराधी उम्कन नपाओस्” भनेर यत्ति लेख्न सक्दैन ? यदि निर्मला पन्त वा अरू कसैको केस भएको भए सबैभन्दा पहिलो खबरदारी यिनीहरूकै हुन्थ्यो।

अर्को थरी निर्लज्जहरूले बलात्कार भनेको बलात्कार हुन्छ, जात हेरेर हुँदैन। निर्मला पन्त दलित भएर बलात्कृत भएकी होइनन् भन्दैछन्।

कुनै बलात्कारीले बलात्कार गर्ने हिम्मत पहुँच भएको माथिल्लो वर्गका महिलाहरूमाथि बढी होला कि पहिलेदेखि नै कमजोर हेपिँदै आएको गरिब वर्गका महिलामाथि होला ? थोरै त कमनसेन्स राख। अध्ययनहरूले प्रस्ट भनेका छन् दलित महिलाहरू बलात्कृत हुने सम्भावना उपल्लो जातका महिलाभन्दा २०० प्रतिशत बढी हुन्छ भनेर । त्यही भएर महिला कुन समुदायको हो भनेर खुलाउनु आवश्यक छ।

तिमीहरूलाई बलात्कारपछि हत्या भनिएकी बालिकाप्रति कुनै सरोकार छैन तर सोही सन्दर्भमा कुनै मिडियासँग आफ्नो नेताको नाम लिइनु चाहिँ आपत्तिपूर्ण छ। “बालेनको निजी कान्तिपुर” भनेर बिम्बात्मक रूपमा रुटिन अफ नेपाल बन्दको “विशेषता” भनेको हो, निर्लज्जहरू। रुटिनले बालेनको लागि प्रचार तन्त्रको रूपमा काम गर्दै आएको छ भन्ने कुरा त नाङ्गो सत्य हो त। निजी मिडिया भन्दा के आपत्ति भयो ? जस्तो तिमीहरूले कान्तिपुरलाई एमाले कांग्रेसको निजी मिडिया भन्छौ।

लेखेको सामान्य कुरा पनि बुझ्ने गिदी छैन भने ब्लक किन हान्दैनौ ?

नेताको अनुहार त फेर्‍यौ तर आफूभित्रको जातिवाद फेर्न सकेनौ भने देश घण्टा फेर्छौ ?

लेखक : सिड्नी अष्ट्रेलियामा बसेर पत्रकारितामा कृयाशिल हुनुहुन्छ


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ