काठमाडौं : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कलाकार राजकुमार विकको एकल चित्रकला प्रदर्शनी ‘सह–अस्तित्व’ सुरु भएको छ ।
शनिबार अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको ६१औँ अवसर पारेर आयोजित प्रदर्शनी प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा सञ्चालनमा आएको हो ।
प्रदर्शनीको उद्घाटन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य हरिप्रसाद भुसाल र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संयुक्त रूपमा गरेका हुन् ।
कार्यक्रममा बोल्दै भुसालले कला केवल रङ र आकृतिमा सीमित नभई मानवीय आवाज र संवेदनाको अभिव्यक्ति भएको बताए । उनले सामाजिक विषयसँग जोडिएको यस्ता प्रदर्शनीले समाजलाई सकारात्मक सन्देश दिने उल्लेख गरे ।
कुलपति हार्तम्छालीले कलाकार विकका कृतिहरूले समाजमा विद्यमान छुवाछुत र विभेदविरुद्ध सशक्त सन्देश दिने बताएका छन् । उनका अनुसार विकले आफ्ना चित्रमार्फत सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि कलात्मक विद्रोहको स्वर प्रस्तुत गरेका छन् ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले मौलिक कला, शिल्प र सिपको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै विकका कृतिमा प्रकृति, संस्कृति र समाजको जीवन्त चित्रण भएको बताए ।
शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले यस प्रकारको कार्यक्रमले समाजमा सहअस्तित्व र समानताको सन्देश प्रवाह गर्ने धारणा राखिन् । लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ भन्ने मूल भावका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
पूर्व सचिव मानबहादुर विकले देशभर छरिएका प्रतिभाहरूलाई मूलधारमा ल्याउने प्रयास प्रशंसनीय भएको बताए ।
कलाकार राजकुमार विकले आफ्ना कृतिमा शोषित तथा उत्पीडित समुदायका कथा, अनुभूति र श्रमचेतनालाई क्यानभासमा जीवन्त बनाउँदै सामाजिक जागरण र सचेतनालाई सशक्त बनाउने प्रयास गरेको बताए ।
चैत १० गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ३५ वटा कलाकृति राखिएका छन् । कार्यक्रममा विभिन्न कलाकार, प्राज्ञ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो ।






मुगुमा आयुर्वेद उपचारप्रति बढ्दो विश्वास
इनिसा विककाे न्यायका लागि प्रवासी नेपालीले बुझाए ज्ञापनपत्र
इनिसा विक हत्या प्रकरण : सिआइबीकाे अनुसन्धान अन्तिम चरणमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना
बालेन नेतृत्वको सरकार गठन अन्तिम चरणमा
राजकुमार विकको ‘सह–अस्तित्व’ एकल चित्रकला प्रदर्शनी
चलचित्र पत्रकार संघ कैलालीकाे अध्यक्षमा विवेक नागरी