काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेका तस्बिर तथा भिडिओ अपलोड गरेको भन्दै १२० जनालाई कारबाही गरेको छ।
उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडिओ तथा तस्विर खिचेर व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक संजालमा अपलोड गरेको आरोप छ। कारबाहीमा परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ जना रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई जस्ता कारबाही गरिएको थापाले बताए। त्यस्तै सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरूमा नकारात्मक टिका टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ। यसअघि पनि यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिएको संगठनले दाबी गरेको छ।
संगठनको नियम विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमन गर्नको लागी सामाजिक सञ्जाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ। गरी सोको विवरण यथासिघ्र खुलाई पठाउन मातहत कार्यालयहरूलाई निर्देशन दिएको छ। फागुन ४ गते मातहत कार्यालयहरूमा आदेशात्मक पत्राचार गर्दै कारबाही गर्न भनिएकाहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ जना, सहायक हवल्दार १ जना र जवान २१ जना रहेका छन्।





