

झापा । नेकपा माओवादी केन्द्रले आजदेखि झापाबाट एक महिने तराई मधेस जागरण अभियान सुरु गर्दैछ । अभियानका लागि प्रचण्डसहितका पदाधिकारी आइतबारै झापा पुगेका छन् ।
राति नेताहरु कार्यकर्ता र सर्वसाधारणको घरमा बसे, त्यहीं खाना आए । अभियान अवधिभर कोही पनि होटलमा नबस्ने नीति अन्तर्गत स्थानीयको घरघरमा बास बसेको माओवादी केन्द्र झापाका इन्चार्ज रञ्तित तामाङले बताए ।
प्रचण्डसहित माओवादी नेताहरुले सोमबार बिहान मर्निङवाक गरे । गत असारमा प्रधानमन्त्रीबाट बाहिरिएपछि देश दौडाहा थालेका प्रचण्ड प्रायः नेताहरुलाई लिएर मर्निङवाकमा निस्कन्छन् । सोमबार प्रचण्डको टोलीले पृथ्वीनगरको सगरमाथा सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट पुनः सगरमाथा चोकसम्म मर्निङवाक गरे ।
२ सय बढी नेता कार्यकर्ताको साथमा प्रचण्डले बिहान ५ः३० देखि ७ः३० सम्म दुई घण्टामा ९ हजार ९ सय ६४ अर्थात साढे ६ किमी यात्रा गरे । तामाङका अनुसार त्यस क्रममा प्रचण्ड र माओवादीका अरु नेतालाई स्थानीयले कतै फूलमाला, कतै खादाले स्वागत गरे । कतिले फोटो खिचाए । मर्निङवाकका क्रममा प्रचण्डले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई दायाबायाँ राखेका थिए । उनले वर्षमान र जनार्दनको काँधमा हात राखेर आत्मियता देखाउन खाजेका छन् । सँगै शक्ति बस्नेत पनि छन् । अग्नि सापकोटासहितका नेताहरु पछाडि देखिन्छन् ।
‘यो अभियानको उद्धेश्य मुलुकमा विद्यमान भ्रष्टाचार, अनियमितता र राज्य दोहनबारे जनतालाई जागरुक बनाउने, सरकारलाई खबरदारी गर्ने र पार्टीभित्र आन्तरिक एकता बलियो बनाउने पनि हो’, इन्चार्ज तामाङ भन्छन्, ‘दुई प्रभावशाली नेताहरुका काँधमा हात राखेर अध्यक्ष कमरेडले त्यही सन्देश दिन खोज्नुभएको होला ।’
