बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’


बिर्तामोड । झापाको बिर्तामोडमा ‘मिक्स फ्रुट क्याफे’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। गोर्खा फाउण्डेशन नेपालद्वारा सञ्चालित क्याफेको आइतबार बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेका हुन्।

गोर्खा फाउण्डेशन नेपालका अध्यक्ष तथा युवा व्यवसायी बिरु दर्नालले बिर्तामोड–४, अधुवा पुलको उत्तरतर्फ पूर्व–पश्चिम राजमार्ग किनारमा क्याफे सञ्चालनमा ल्याएका हुन्।

उद्घाटनपछि क्याफेले सोमबारदेखि पूर्ण रूपमा सेवा सुरु गर्नेछ। यहाँ ताजा फलफूल, विभिन्न प्रकारका जुस, मोही तथा फास्टफुडका परिकार उपलब्ध हुने सञ्चालक दर्नालले जानकारी दिए।

उद्घाटन समारोहमा बोल्दै सञ्चालक दर्नालले ग्राहकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सफा, स्वच्छ र गुणस्तरीय परिकार तयार गरिने बताए। ग्राहकले अर्डर गरेका परिकार उनीहरूकै निगरानीमा तयार गरी सेवा प्रदान गरिने व्यवस्था मिलाइएको उनले बताए।

उनका अनुसार क्याफे बिहानैदेखि रातिसम्म सञ्चालन हुनेछ। बिर्तामोड तथा आसपासका क्षेत्रका कार्यालय र पसलमा अर्डरअनुसारका फलफूलजन्य परिकार तथा अन्य खाद्य सामग्री निःशुल्क डेलिभरी गर्ने व्यवस्था पनि गरिएको छ। करिब १५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको क्याफेबाट पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

सोही अवसरमा सामाजिक अभियन्ता विष्णुप्रसाद आचार्यलाई सम्मान गरिएको थियो। फोहोरमैला व्यवस्थापन, सामाजिक उत्तरदायित्व तथा रक्तदान समन्वयजस्ता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गोर्खा फाउण्डेशन नेपालले उनलाई सम्मान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख संग्रौलाले खाद्य व्यवसायमा सरसफाइ र गुणस्तरलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए। खाद्य सामग्री प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्यसँग जोडिने भएकाले स्वास्थ्यमा असर पर्ने वस्तुको बिक्री–वितरण नगर्न उनले आग्रह गरे।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले पनि उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्य सामग्री बिक्री–वितरण गरे कानुनी कारबाही हुन सक्ने चेतावनी दिँदै व्यवसायीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे।

उद्घाटन समारोहमा समाजसेवी, शिक्षासेवी, उद्योगी–व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन गोर्खा फाउण्डेशन नेपालका महासचिव सुवास तिखत्रीले गरेका थिए।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ