गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण


काठमाडौं । स्वतन्त्र दलित नागरिक समाज नेपालले त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा मुगुको सोरु गाउँपालिका–१ का २६ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समाजका संयाेजक कर्ण बहादुर नेपालीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा गम्भीर रूपमा घाइते भएका गणेश नेपाली हाल वीर अस्पतालमा जीवन र मृत्युबीच संघर्षरत रहेको उल्लेख गर्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना तथा परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ।

विज्ञप्तिमा कुनै पनि युवाले आफ्नै शरीरमा आगो लगाउन बाध्य हुने अवस्था सामान्य घटना नभई राज्य, समाज र सम्बन्धित निकायको गम्भीर असफलताको संकेत भएको उल्लेख गरिएको छ। अवसरको अभाव, बेरोजगारी, प्रशासनिक झन्झट र भविष्यप्रतिको निराशाका कारण शिक्षित युवाहरू यस्ता कठोर निर्णय लिन बाध्य हुनुपरेको भन्दै समाजले चिन्ता व्यक्त गरेको छ।

समाजले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेको छ। साथै उपचाररत गणेश नेपालीको प्रभावकारी उपचारको व्यवस्था गर्न, परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा यस्ता घटनालाई सामान्य रूपमा नलिई युवाको जीवन, सम्मान र भविष्यसँग जोडिएका समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेको छ।

विज्ञप्तिमा यो घटना केवल गणेश नेपालीको व्यक्तिगत पीडा नभई देशका हजारौं युवाको निराशा, पीडा र राज्यप्रतिको घट्दो विश्वासको प्रतिनिधित्व गर्ने घटना भएको उल्लेख गरिएको छ। समाजले नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालाहरूलाई युवाको भविष्य सुरक्षित गर्ने दिशामा ठोस कदम चाल्न अपिल गरेको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ