‘मैले कुनै बेला १८ घण्टासम्म काम गरेको छु’ राणाले करिअरको किस्सा सम्झिइन्, ‘‘एउटा एक्सन फिल्म सम्पादन गर्दै थिएँ । नाम चलेकै द्वन्द्व निर्देशक आउनुभयो र नेवारीमा महिला सम्पादकले हुँदैन सम्पादक चेन्ज गर्नु पर्‍यो भन्नुभयो । मैले यो मेरो प्रोजेक्ट हो, मै गर्छु भनेर अडान लिएँ ।’

महिला फिल्मकर्मीले सुनाए पारिश्रमिकदेखि लैंगिक विभेदको गुनासो


काठमाडौं- ‘ग्लोबल फिल्म डे’को अवसरमा राजधानीमा ‘फिल्ममा महिला शीर्षक’मा छलफल गरिएको छ । ग्लोबल कम्प्याक्ट नेपाल र बटरफ्लाई फिल्म्स्को आयोजनामा सम्पन्न सत्रमा अभिनेत्री बसुन्धरा भुसाल, दृश्य सम्पादक रक्षासिंह राणा, नृत्य निर्देशक रेनेशा वान्तवा राई र वितरक जेनिश पहारी वक्ता थिए ।

आयोजक संस्थाका कार्यकारी निर्देशक कृष्ण शाहको सहजीकरणमा सम्पन्न सत्रमा टेम्पो चालक, उद्योगपति तथा समाजसेवी लक्ष्मी शर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

अभिनेत्री भुसालले आफ्नो पहिलो फिल्म ‘आमा’देखि पछिल्लो ‘बेहुली फ्रम मेघौली’सम्मको चुनौति र अवसरबारे चर्चा गरिन् । ‘मैले पहिलो फिल्म नै कलकत्तामा गएर सुटिङ गर्ने मौका पाएँ । त्यहाँको स्टुडियोमा हिन्दी फिल्मका कलाकारको अभिनय देखेर बुझ्ने मौका पाएँ’ उनले भनिन् ।

त्यतिबेला फिल्म क्षेत्रमा लाग्दा घरपरिवार र समाजकै आलोचनाको पात्र बन्ने पुगेको पीडा पनि उनले सुनाइन् । ‘आमाले निकै पिट्नुभयो । बाटोमा हिँड्दा पनि मानिस नक्कली भनेर जिस्काउँथे । तरपछि थाहा पाएँ, त्यो त दर्शकले प्रशंसा गर्नुभएको रहेछ’ उनले सुनाइन् ।

भुसालले फिल्म क्षेत्रप्रतिको दृष्टिकोण बदलिएको बताइन् । ‘हामीले आफू बिक्नेभन्दा पनि आफ्नो काम बिकाउने हो’ उनले भनिन् । सुरुवाती दिनमा भन्दा अहिले पारिश्रमिकमा कटौति गर्न थालिएको गुनासो उनले गरिन् । ‘मैले हास्यकलाकारको रुपमा अभिनय सुरु गरेको त्यो बेला सरकारी तवरबाटै फिल्म बन्ने भएकाले रोल अनुसार राम्रो परिश्रमिक दिइन्थ्यो’ उनले भनिन् ।

‘जब प्राइभेट सेक्टरबाट फिल्म बन्न थाले, निर्माताले पारिश्रमिकमा बार्गेनिङ गर्न थाल्नुभयो । कतिपय फिल्ममा त मैले पारिश्रमिक यस्तो कम दिने भए बरु आमाको रोल नै नराख्नु पनि भनेकी छु’ उनले भनिन् ।

दृश्य सम्पादक तथा निर्देशक राणाले फिल्म क्षेत्रमा महिलाका लागि अवसर रहेको बताइन् । यसको लागि आफ्नो क्षमता चिनेर र मिहेनतका साथ अघि बढ्नुपर्ने उनले बताइन् । ‘नेपालमा विद्यालयमा कम्प्युटर शिक्षा सुरु हुँदाको पहिलो ब्याच म थिएँ । कम्प्युटरमा रुचि भएकाले फिल्म एडिटीङतिर गएँ’ उनले सम्झिइन् ।

‘मैले कुनै बेला १८ घण्टासम्म काम गरेको छु’ राणाले करिअरको किस्सा सम्झिइन्, ‘‘एउटा एक्सन फिल्म सम्पादन गर्दै थिएँ । नाम चलेकै द्वन्द्व निर्देशक आउनुभयो र नेवारीमा महिला सम्पादकले हँुदैन सम्पादक चेन्ज गर्नु पर्‍यो भन्नुभयो । मैले यो मेरो प्रोजेक्ट हो, मै गर्छु भनेर अडान लिएँ ।’

नृत्य निर्देशक तथा निर्देशक राईले कक्षा १२ पछि कलिलै उमेरमा नृत्य निर्देशनको यात्रा तय गरेको र डेढ दशकको करिअरमा मिहेनत र सिकाइले निर्देशनमा समेत काम गरेको बताइन् । ‘म जतिबेला म्युजिक भिडियो कोरियोग्राफीमा आएँ । त्यतिबेला टिममा सबैजना पुरुष हुन्थे । मैले एक्सनभन्दा पनि नसुने जस्तो गर्थे’ उनले सम्झिइन्, ‘म सानो भएकोेले टेर्दैन थिए । त्यसैले आफू बोल्ड देखिन त्यस्तै पहिरन र मेकअप अनि त्यस्तै बोल्ड व्यवहार गर्थेँ ।’

अहिलेको पुस्तालाई उनको सल्लाह छ, ‘अहिलेका भाइबहिनी मलाई सबै कुरा आउँछ भन्ने सोच राख्नुहुन्छ । तर, फिल्म क्षेत्रमा सिक्नुपर्ने धेरै कुरा हुन्छन् । मोबाइलबाट भिडियो खिचेर एडिट गरेर सामाजिक सञ्जालमा हालेको जस्तो सजिलो पनि छैन फिल्म क्षेत्र ।’

वितरक पहारीले फिल्म वितरणका विभिन्न चरणबारे जानकारी दिँदै फिल्म क्षेत्रमा वितरकको चुनौती र अवसरबारे बताइन् । ‘यहाँ विभिन्न खालका चुनौती छन् र काम गर्दै जाँदा आउने समस्यालाई कसरी पार गर्ने भन्नेबारे पहिले नै सोच्नुपर्छ’ उनले भनिन्, ‘फिल्मका अन्य विधामा महिलाको बाक्लो उपस्थिती रहे पनि वितरणमा त्यस्तो छैन । त्यसैले मिटिङमा पनि म प्रायः एक्लै हुन्छु ।’

जेनिशले अहिले पनि फिल्म क्षेत्रमा महिला नजाओस भन्ने समाज र घर परिवारको मान्यता रहेको र त्यसलाई हटाउनुपर्ने बताइन् । विभिन्न स्कुल र कलेजका विद्यार्थी तथा फिल्मकर्मी र व्यवसायीको संलग्नतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा बटरफ्लाई फिल्म्सका अध्यक्ष सिर्जन श्रेष्ठले धन्यवाद दिए ।

-अनलाइनखबरबाट साभार

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ