कैलाली । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार विरमान चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
घरदैलो अभियान तथा विभिन्न टोल–बस्तीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै चौधरीले आफू निर्वाचित भए कैलाली–३ का जनताको आवाज संसद्मा मजबुत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
“जनताले भोग्दै आएका समस्या अब कागजमा सीमित नहोस् भन्ने मेरो चाहना हो,” चौधरीले भने, “कैलाली–३ लाई विकास र समान अवसरको क्षेत्रमा अगाडि बढाउन इमानदार प्रयास गर्नेछु ।” उनले थारु समुदायसहित सबै जाति, वर्ग र समुदायका हक–अधिकारको संरक्षण तथा सामाजिक न्यायका पक्षमा आफू सधैँ उभिने पनि स्पष्ट पारे ।

भ्रष्टाचार, विभेद र अन्यायविरुद्ध निरन्तर सङ्घर्ष गर्ने उनको प्रतिबद्धता रहेको बताए । स्थानीय मतदाताहरूले पनि चौधरीसँग खुला रूपमा आफ्ना समस्या र अपेक्षा राख्दै सकारात्मक प्रतिक्रिया जनाएका छन् । घरदैलो अभियानका क्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ ।
प्रतिबद्धता पत्रमा उल्लेख गरिएका एजेन्डा
- भजनीमा रहेको छोटी भन्सारलाई अपग्रेड गर्ने
- भजनी देखि सेती लोकमार्ग सम्म ४ लेनको सडक
- मोहना, कान्द्रा ,डोरा, शुक्तिकाडा लगायतका नदी व्यवस्थापन
- घोडाघोडी न.पा.मा मालपोत र नापी कार्यालय स्थापना
- माछा, गहुँ ,धान, तोरी र मसुरो,ब्रोइलर कुखुरा, लगायतको विशेष क्षेत्र घोषणा
- घोडाघोडी मन्दिर, ताल र जङ्गललाई विभिन्न भागमा वर्गीकरण गरेर सोही अनुसार गुरु योजना निर्धारण गर्ने र घोडाघोडी मन्दिरलाई थारु समुदायको विशेष पूजा स्थलको रूपमा राष्ट्रव्यापी बनाउने
- लोकाभौका ताललाई माछा अवलोकन क्षेत्र बनाउने
- यो क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण गर्नु पर्ने
- यो क्षेत्रमा पोलिटेक्निकल कलेज स्थापना गर्ने
- मोहना नदीमा मितेरी पुल निर्माण
- वनपैदावरलाई स्थानीय वासिन्दाहरुसँंग जोडेर उत्पादन मुखी बनाउने
- घोडाघोडी न.पा. २ मा रङ्गशाला निर्माण गरिने
- नवप्रवर्द्धन कार्यहरू थालनी गर्ने
- पहलमानपुर स्थित कोल्ड स्टोरलाई निजी क्षेत्र, सहकारी र सरकार मिलेर संयुक्त रूपमा सञ्चालन गर्नका लागि आवश्यक पहल र प्रबन्ध गर्ने
- मत्स्य प्रजनन केन्द्र स्थापना गर्ने
- माटो प्रयोगशाला र पशु अस्पताल स्थापना
- हुलाकी सडक -पहलमापुर – डोकेबजार सिमली हुँदै अछाम र डोटी जोड्ने सडक निर्माण
- वित्तीय गतिविधि र असन्तुलनको मुद्दा कसरी व्यवस्थापन गर्ने
- चिडिया र कोइलैइ ताललाई पर्यटन हब घोषित गर्ने
- कैलारी गा.पा.लाई थारु विशेष पालिका घोषणा गर्न पहल गरिने
- यो क्षेत्रका भजनी र कैलारी गा.पा.डुबानमा पर्ने हुँदा अत्याधुनिक पूर्व सूचना प्रणाली उद्धार र प्रतिकार्य तथा बसोबास व्यवस्थापन प्रणाली निर्माण गरिने






बालेन सरकारको १०० बुँदे कार्यक्रममा हरवाचरवा उपेक्षित