काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको बताएका छन् ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताएका हुन् ।
उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेका हुन् । गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीको स्पष्ट मापदण्ड, उश्रृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने बताए ।
गृहमन्त्री अर्यालकाअनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ । अहिले देशभरका सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू पुगिसकेका छन् ।
उनले भने ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरू परिचालित छन् । त्यो अनुसार अब सबै अहिले सुरक्षा संयन्त्रहरू मतदान स्थलसम्म पुगेका छन् । र अब जतिखेर जे आवश्यक पर्छ, परिएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्ने गरी देशभरि नै पूर्ण रूपमा अहिले सुरक्षाको प्रत्याभूति दिएको अवस्था छ ।’
गृहमन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत रहेकाले कुनैपनि प्रकारको असुरक्षाको महसुस गर्नु नपर्ने स्पष्ट पारे ।
मतपेटिका ढुवानीमा कडा सुरक्षा र गाडीको सिट–प्लान नै तय
मतदान सम्पन्न भइसकेपछि मतपेटिकाहरू कसरी सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइन्छ भन्ने विषयमा पनि गृहमन्त्री अर्यालले प्रष्ट पारे । सुरक्षा योजनाको अनुसूची २ मै मतपेटिका बोक्ने गाडीको व्यवस्थापनबारे स्पष्ट लेखिएको उनले जानकारी दिए ।
उनकाअनुसार गाडीमा सबैभन्दा अगाडि ड्राइभर र मतदान अधिकृत बस्नेछन् । त्यसको पछाडि मतपेटिका राखिनेछ, मतपेटिकाको पछाडि प्रहरी बस्नेछन् र सबैभन्दा पछाडि मात्र उम्मेदवारका प्रतिनिधिहरू रहनेछन् । यसका साथै, उक्त मतपेटिका बोकेको गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गाडीले स्कर्टिङ गर्ने र आवश्यक परेको खण्डमा वा असुरक्षा महसुस भएमा नेपाली सेनाको गाडीले समेत स्कर्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्याइने
निर्वाचनको समयमा कुनैपनि गैरकानूनी वा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले नछाड्ने गृहमन्त्री अर्यालको चेतावनी छ । त्यस्ता गतिविधि नियन्त्रणमा मात्र सीमित नरही कडा कानुनी कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारे ।
उनले भने ‘त्यस्ता गतिविधि देखिए हामी नियन्त्रणमा मात्रै लिँदैनौँ, कानुनी कारबाही गर्छौँ । अनुसन्धान गर्छौँ, अभियोजन गर्छौँ र अदालतमा पनि पेश गर्छौँ । उहाँहरू दण्डको भागिदार बन्नुपर्छ, ।’
लोकतन्त्रको गुणस्तर र राजनीतिक सुशासनका लागि सुझबुझपूर्ण मतदानको अपिल
अन्तरिम सरकारले गराउन लागेको यो निर्वाचन विगतका निर्वाचनहरू भन्दा अझै सुदृढ, स्वच्छ र धाँधलीरहित हुने दाबी गृहमन्त्री अर्यालले गरे । उनले नागरिकको भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सरकारले सुनिश्चित गरेको बताए ।
यस निर्वाचनलाई केवल प्रतिनिधि छान्ने र सरकार बनाउने प्राविधिक प्रक्रियाका रूपमा मात्र नहेरी राजनीतिक सुशासन कायम गर्ने अवसरका रूपमा लिन उनले मतदातालाई आग्रह गरे ।






राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
जाँचबुझ आयोगको प्रतिवेदनमा के छ ?
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
गदरियाकाे जनलहरले प्रेम आले उत्साहित
कैलारीको गदरियामा प्रेम आलेको समर्थनमा विशाल जनप्रदर्शन
प्रेम आलेको चुनावी अभियानमा पार्टी प्रवेश गर्नेको लर्को