१० रुपैयाँमै तातो खाना : मानवीय सेवाको उदाहरण


ललितपुर । ललितपुरमा न्यून आय भएका र सडक जीवन बिताइरहेका मानिसहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको “तातो खाना” अभियान अहिले मानवीय सेवाको उत्कृष्ट उदाहरण बनेको छ।

खुमलटार हाईटस्थित प्रिमियर इन्टरनेशनल स्कुलका निर्देशक पवित्रा लिम्बुकाे पवित्र सेवाभावले ‘ताताे खाना’ कार्यक्रम संचालनमा आएकाे हाे ।

‘ताताे खाना’ कार्यक्रम हरेक हप्ताकाे प्रत्येक आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुँदै आएको छ। खाना खान चाहने अन्य ब्यक्तिहरुले भने एक सय पचास रुपैयाँ तिरेर खान पाउँछन् ।

कोरोना महामारीका बेला विविध कारणले रोकिएको साे कार्यक्रम सन् २०२४ देखि पुनः सुरु गरिएको हो। हाल यो अभियानले ४५ औँ हप्ता पूरा गरिसकेको छ।

ललितपुर महानगरपालिकाले निःशुल्क उपलब्ध गराएको जावलाखेलको चौरमा सञ्चालन भइरहेको यस सेवामार्फत गरिबिका कारण सडक पेटिमा बस्ने,माग्ने र पाटिपौवामा रात विताउनेहरुलाई १० रुपैयाँमै पेटभरि खाना उपलब्ध गराइन्छ।

आयोजकका अनुसार सहयोग गर्न चाहनेहरूले स्वईच्छाले दान गर्न सक्नेछन ।

विशेषगरी सडकपेटीमा बस्ने, माग्ने, जोगी तथा पाटी–पौवामा आश्रय लिने व्यक्तिहरूलाई लक्षित गरी सुरु गरिएको यो अभियानमा हरेक हप्ता करिब १०० जनाले लाभ लिँदै आएका छन्।

प्रिमियर इन्टरनेशनल स्कुलकी शिक्षिका प्रतिमा पाण्डेका अनुसार दैनिक १५० जनालाई खुवाउने लक्ष्य भए पनि हाल १०० जनालाई नियमित रूपमा सेवा दिइँदै आएको छ।

“विद्यार्थीहरूमा सेवाभाव विकास गराउने उद्देश्यले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई नै परिचालन गरिएको छ, हरेक हप्ता फरक–फरक समूहले सेवा दिन्छन्,” उनले भनिन्।

 

अभियान सुरु भएदेखि हालसम्म करिब ३५०० जनाले तातो खाना खाइसकेका छन्। सालको पातको टपरिमा ग्रेभि तरकारीसहितकाे भात (ताताे खाना) पाउने गरिन्छ, जुन स्वादिलो र स्वास्थ्यकर रहेको सेवाग्राही गणेशबहादुर गोदारले बताए। “यो आर्थिक अवस्था कमजोर भएर भोकै बस्न बाध्य भएका मानिसहरूका लागि अत्यन्तै प्रशंसनीय काम हो,” उनले भने।

नख्खु दोबाटोका ६० वर्षीय अपाङ्ग बालकृष्ण घिमिरे पनि नियमित सेवाग्राही हुन्। उनले भने, “म जस्ता गरिब र अपाङ्ग व्यक्तिका लागि यो अभियानले ठूलो राहत दिएको छ।”

मानवीय संवेदनासँगै युवापुस्तामा सेवा भाव जगाउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानले समाजमा सकारात्मक सन्देश फैलाइरहेको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ