कम्युनिस्ट एकताको आवश्यकता बढेको छ : प्रचण्ड


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उनले श्रमजीवी वर्ग र कम्युनिस्ट शक्तिहरूबीच एकता गर्दै नयाँ राजनीतिक यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

२६ औँ निर्मल लामा स्मृति सभा लाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान परिस्थितिले कम्युनिस्ट एकताको आवश्यकता झनै बढाएको बताए। “हिजो गरेका कामका आधारमा आजको आवश्यकता पूरा हुँदैन,” उनले भने।

उनका अनुसार कम्युनिस्ट आन्दोलनलाई पुनस् सशक्त बनाउन विचार, राजनीति र संगठनात्मक सबै पक्षमा नयाँ ढंगले अघि बढ्ने प्रयास भइरहेको छ। उनले विगतमा कम्युनिस्ट शक्तिलाई एकीकृत गर्ने प्रयासहरू भए पनि अपेक्षित परिणाम प्राप्त नभएको उल्लेख गरे।

प्रचण्डले जनतामा अझै पनि कम्युनिस्ट एकताको चाहना रहेको दाबी गर्दै निर्वाचनमा पनि कम्युनिस्ट शक्तिहरू ठूलो जनसमर्थन नजिक पुगेको स्मरण गरे।

उनले कम्युनिस्ट आन्दोलन एकता र विभाजनका विभिन्न चरणहरू पार गर्दै आएको उल्लेख गर्दै अहिले फेरि एकताको आवश्यकता विशेष रूपमा बढेको बताए।

साथै, उनले देशमा बाह्य हस्तक्षेप र आन्तरिक चुनौतीहरू बढिरहेको दाबी गर्दै कम्युनिस्ट आन्दोलनमाथि दबाब सिर्जना गर्ने प्रयासहरू भइरहेका हुनसक्ने टिप्पणी गरे।

प्रचण्डले आन्दोलनलाई पुन: मूल्यांकन गर्दै कमजोरी सच्याएर नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ