

दार्चुला । दार्चुलामा २८.३०४ मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । शनिबार जिल्लाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्धारा सञ्चालित उक्त जलविद्युत आयोजनाको शिलान्यास गरिएको हो ।
दार्चुला पावर लिमिटेडका सञ्चालक गुरु न्यौपानेको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रमका बिच आयोजनाको शिलान्यास गरिएको छ ।
जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने लिमिटेडले जनाएको छ । तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत ६ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको आयोजनाका सञ्चालक न्यौपानेले जानकारी दिए ।
शेरीबाट ८.५ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ । शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभाका सांसद मानबहादुर धामी र विक्रमसिंह धामीलगायतको उपस्थिति रहेको थियो ।
