धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कैलाली निर्वाचन क्षेत्र न .५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले जनताका समस्या र गुनासा प्रत्यक्ष सुन्दै सम्बोधन गर्ने अभियानलाई निरन्तरता दिएका छन्।
पूर्व मन्त्री समेत रहेका उहाले आज धनगढी उपमहानगरपालिका–१३ अन्तर्गत गेटा विमानस्थल आसपासको लक्ष्मीनगर टोलमा पुगेर त्यहाँका समस्याका बारेमा स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गर्नु भएको छ ।
घरदैलो कार्यक्रमअन्तर्गत टोल–टोलमा पुगेर जनताको अवस्था बुझ्दै आउनु भएका नेता आलेले स्थानीयवासीले उठाएका जग्गाधनी प्रमाण पुर्जा, खानेपानी, सडक स्तरोन्नति, ढल निकास, स्वास्थ्य सेवा र रोजगारीका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाले जनप्रतिनिधि जनताकै घरमा पुगेर समस्या सुन्नु नै लोकतान्त्रिक अभ्यासको सबल पक्ष भएको उल्लेख गर्नुभयो ।
स्थानीय बासीले गेटा विमानस्थल आसपासका जनताले लालपुर्जा नपाएको, सडकको जिर्ण अवस्था रहेको, बाढीको समयमा हुने जलमग्न समस्या तथा युवाहरूका लागि रोजगारीका अवसर अभावबारे गुनासा राखेका थिए।
त्यसका साथै टोलमा स्वास्थ्य चौकीको स्तरवृद्धि, सामुदायिक भवन निर्माण र व्यवस्थित बजार पूर्वाधार निर्माणको मागसमेत गरिएको थियो।
नेता आलेले ती सबै मागलाई योजनाबद्ध रूपमा सम्बोधन गर्ने आश्वासन दिँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर विकासका कामलाई तीव्रता दिने बताउनुभयो। उहाले भन्नुभयो, “जनताको घरदैलोमै पुगेर समस्या सुन्नु र समाधानको मार्ग पहिल्याउनु नै मेरो पहिलो दायित्व हो। चुनाव जित्नु मात्र लक्ष्य होइन, जनविश्वास कायम राख्नु ठूलो जिम्मेवारी हो।
यहाँका जनताको समस्याको समाधान गर्न म कुनै कसर बाकी राख्ने छैन । समस्याको समाधान मैले गर्छु ।”
कार्यक्रममा बोल्दै उहाले गेटा विमानस्थल क्षेत्रलाई आर्थिक तथा पर्यटन विकासको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे पनि चर्चा गर्नुभयो ।
पूर्वाधार विकाससँगै साना तथा घरेलु उद्योगलाई प्रोत्साहन, महिला तथा युवालाई सीपमूलक तालिम, कृषि आधुनिकीकरण र स्वरोजगार कार्यक्रम सञ्चालन गरिने उहाको भनाइ थियो।
स्थानीय अगुवाहरूले नेता आलेको घरदैलो कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै प्रत्यक्ष संवादले विश्वास बढेको प्रतिक्रिया दिएका थिए। ?उनीहरूले विगतमा राखिएका मागहरू कार्यान्वयन नहुँदा निराशा बढेको उल्लेख गर्दै यसपटक व्यवहारिक र दीर्घकालीन समाधान चाहिएको बताएका थिए ।
कार्यक्रममा सुदुर पश्चिम प्रदेशका पुर्व मन्त्री एवं सांसद रमेश धामी, पार्टीका स्थानीय नेता–कार्यकर्ता, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
घरदैलो तथा अन्तरक्रिया कार्यक्रम आगामी दिनमा पनि निरन्तर जारी रहने नेता आलेको सचिवालयले जनाएको छ।





