चितवन । भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गर्दै आजदेखि कार्यान्वयनमा ल्याइने जनाइएको छ ।
निर्णयअनुसार पूर्वी जिल्लाबाट काठमाडौँ तथा पोखरा जाने यात्रुवाहक बस, मिनीबस, माइक्रोलगायत सवारीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै बाइपास सडक प्रयोग गरी आँपटारी चोकबाट बाहिरिनुपर्नेछ । पूर्वी जिल्लाबाट पश्चिमतर्फ जाने सवारीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी चौबिसकोठी, लायन्सचोक हुँदै पुल्चोकबाट बाहिरिनुपर्नेछ ।
पश्चिम क्षेत्रबाट पूर्व तथा काठमाडौँतर्फ जाने यात्रुवाहक सवारीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै गन्तव्यतर्फ जानुपर्नेछ । बागलुङ, पोखरा तथा काठमाडौँबाट पूर्व वा पश्चिम जाने सवारीले आँपटारीबाट बाइपास सडक हुँदै केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी गन्तव्यतर्फ जानुपर्नेछ ।
जिल्लाबाट पूर्व तथा पश्चिम जाने लामो दूरीका सवारीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कबाट मात्र यात्रु लिनुपर्नेछ । चितवनबाट बागलुङ, पर्वत, पोखरा, स्याङ्जा, गोरखा र लमजुङ जाने बस तथा मिनीबस नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिई आँपटारी हुँदै बाहिरिनुपर्नेछ । महानगर क्षेत्रभित्र जथाभावी यात्रु चढाउने तथा ओराल्ने प्रयोजनका लागि सवारी रोक्न नपाइने निर्णय गरिएको छ । केन्द्रीय बसपार्क (पारस बसपार्क) र नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिई सञ्चालन हुने बस तथा मिनीबसले रातिको पार्किङ सोही बसपार्कमा गर्नुपर्नेछ ।
भरतपुर महानगर क्षेत्रको रिङरोडमा चल्ने म्याजिकको क्यु र पार्किङ सम्बन्धित समितिले व्यवस्थापन गरेका स्थानमा हुनेछ र त्यसको जानकारी महानगर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दिनुपर्नेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डारा, लोथर जाने तथा त्यहाँबाट आउने बस र म्याजिकको क्यु तथा पार्किङ केन्द्रीय बसपार्कमा हुनेछ भने अन्तिम विन्दु लायन्सचोक तोकिएको छ ।
नारायणगढबाट कावासोती, डन्डा, हेटौँडा र वीरगन्ज जाने बस तथा मिनीबसको क्यु लिने स्थान केन्द्रीय बसपार्क हुनेछ । सम्बन्धित बसपार्कबाट छुटेका मिनीबस तथा म्याजिकले तोकिएका स्थानबाहेक अन्यत्र ‘पिक एन्ड ड्रप’ तथा पार्किङ गर्न पाउने छैनन् । स्थानीय सवारीको ‘पिक एन्ड ड्रप’ स्थान महानगर, सडक डिभिजन कार्यालय, ट्राफिक प्रहरी र यातायात समितिको संयुक्त अनुगमनपछि निर्धारण गरिनेछ ।
भरतपुरबाट पश्चिम चितवनतर्फ जाने बस तथा म्याजिक चौबिसकोठी हुँदै लायन्सचोकबाट घुमाउनुपर्नेछ । सम्बन्धित स्थलबाट छुटेका सवारी तोकिएको अन्तिम स्थानसम्म अनिवार्य पुग्नुपर्नेछ ।
जिल्लाभित्र चल्ने लोकल मिनीबस, म्याजिक र अटो आ–आफ्नो क्यु छुट्ने पार्कबाट रुट नम्बरका आधारमा सञ्चालन गर्नुपर्नेछ । रुट नम्बर स्टिकर सम्बन्धित यातायात प्रालिले व्यवस्थित गर्नुपर्नेछ । भरतपुर महानगर क्षेत्रमा चल्ने अटो अनिवार्य रूपमा प्रालिमा दर्ता भई सोही प्रालिको लोगो लगाएर मात्र सञ्चालन गर्नुपर्नेछ । लोगो नभएका अटो सञ्चालनमा रोक लगाइनेछ । अटो नवीकरण सम्बन्धित प्रालिको सिफारिसमा मात्र हुनेछ ।
अटोको रुट, सेक्टर विभाजन तथा रङ निर्धारण महानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र सम्बन्धित प्रालिको सहकार्यमा गरिनेछ । रुट मार्किङ तथा स्टिकर व्यवस्था गरी तोकिएको रुटबाहेक अन्यत्र सञ्चालन निषेध गरिनेछ । तीनपाङ्ग्रे साना सवारीलाई बजार क्षेत्रको राजमार्ग प्रयोगमा पूर्ण रोक लगाइएको छ ।
नारायणगढ बजारको पुल्चोकदेखि पोखरा बसपार्कतर्फ जाने सडकमा बिहान ८ः०० देखि बेलुका ८ः०० बजेसम्म ठूला मालवाहक तथा लामो दूरीका सवारी प्रवेश निषेध गरिएको छ । काठमाडौँ तथा पोखराबाट आउने यस्ता सवारीलाई पनि सोही अवधिमा बजार प्रवेशमा रोक लगाई बाइपास सडक प्रयोग अनिवार्य गरिएको छ । बिहान ९ः०० देखि बेलुका ७ः०० बजेसम्म बजार क्षेत्रमा मालवाहक सवारीले लोडअनलोड गर्न पाउने छैनन् ।
गोन्द्राङदेखि पुल्चोक हुँदै आँपटारीसम्म जथाभावी हर्न बजाउन निषेध गरिएको छ । पूर्वपश्चिम राजमार्ग, पुल्चोक–आँपटाँडी सडक तथा बाइपास सडकको दायाँबायाँ भागमा निजी तथा भाडाका सवारी पार्किङ निषेध गरिएको छ । पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी चोक र केन्द्रीय बसपार्क चोक लगायत स्थानमा रहेका विभिन्न यातायात प्रालिका टिकट काउन्टर, बसपार्क प्रयोग तथा कवाडी शुल्क उठाउने काउन्टर सात दिनभित्र हटाई सम्बन्धित बसपार्कमा राख्नुपर्नेछ ।
केन्द्रीय बसपार्क चोकदेखि आँपटारीसम्मको बाइपास सडकखण्डका जोखिमयुक्त मिडियन क्रसिङ सडक डिभिजन कार्यालयले बन्द गराउने निर्णय गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङदेखि पुल्चोकसम्मको सर्भिस लेनलाई एकतर्फी बनाइ ट्राफिक व्यवस्थापन गरिनेछ । निर्णय कार्यान्वयनका लागि आवश्यक सामग्रीको बजेट भरतपुर महानगरपालिकाले सुनिश्चित गर्ने र आफ्नो कार्यक्षेत्रभित्रका सडक पूर्वाधार सडक डिभिजन कार्यालयले व्यवस्थापन गर्ने जनाएको छ ।
बैठकमा भरतपुर महानगरपालिका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित कार्यालयका प्रमुख, महानगरका कर्मचारी, विभिन्न यातायात प्रालिका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, यातायात व्यवस्था कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।






लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन