काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
बिहीबार काठमाडौँको निर्वाचन क्षेत्र नम्बर दुईको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न आग्रह गरेका हुन् ।
विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातललाई हेरेर निर्णय लिन आग्रह गरे । उनले यस पटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताए ।
उनले हाल देशको अस्तित्व नै संकटमा परेको बताए । उनले नेपाल प्रथम भन्ने सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले हजार पटक सोचेर मात्र मतदान गर्नुपर्नेमा जोड दिए । अध्यक्ष लिङदेनले विगतमा असफल भएका र स्पष्ट दृष्टिकोण नभएका दल तथा नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको बताए ।
उनका अनुसार देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प हो । उनले राप्रपाले नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर अघि बढाउन सक्ने दाबी गरे ।
उनले भने ‘यो पटकको निर्वाचन एक थान सांसद चुन्ने मात्रै होइन, एउटा सरकार निर्माण गर्ने चुनाव मात्रै होइन । अहिले हामी विशिष्ट परिस्थितिका बीच यो निर्वाचनमा प्रवेश गरेका छौँ । हामी अहिले देशै रहन्छ कि रहँदैन भन्ने अवस्थामा छौँ । त्यसकारण देशलाई केन्द्रमा राखेर नेपाल प्रथम, नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर तपाई हरेक मतदाताले आफ्नो अमूल्य मतदान गर्नुभन्दा अगाडी हजार पटक सोचेर मात्रै मतदान गर्नुस् । पटकपटक असफल भएकाहरू, कुनै दृष्टिकोण स्पष्ट नभएकाहरूलाई मतदान गरेर फेरी पनि हामीले गल्ती गर्ने कि नगर्ने रु त्यो च्वाईस तपाईँहरूको हातमा छ । यो देशमा शान्ति, विकास र स्थिरताको लागी तपाईँहरूले खोजेको एकमात्र विकल्प भनेको राप्रपा मात्रै हो । राप्रपाले मात्रै नयाँ पुराना सबै राजनीतिक शक्तिहरूलाई मिलाएर अगाडी लैजान सक्छ । आज देशमा कुनै समन्वयकारी शक्ति छ भने त्यो राप्रपा मात्रै हो । त्यसैले राप्रपा आगामी संसदमा बलियो शक्तिको रूपमा हुन जरुरी छ । आज देश तपाई हामीले सामान्य आँखाले देखेजस्तो छैन । नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट बाहिर गइसक्यो । कुन प्रकारको वैदेशिक हस्तक्षेप, कुन प्रकारको विदेशीहरूको चलखेल भएको छ भन्ने तपाई काठमाडौबासीहरुले देख्नुभएको छ । त्यसकारण लहैलहैमा फेसबुक हेरेर, टिकटक हेरेर, रिल हेरेर भोट दिएर आफ्नो भविष्य बिगार्ने काममा आफ्नै हातलाई प्रयोग नगर्नुस् । खासगरि युवा पुस्ता जो फेसबुक, रिल्स र टिकटकको पछि कुदिँराख्नुभएको छ, त्यो युवा पुस्तालाई म आग्रह गर्न चाहन्छु, तपाई आफ्नो भविष्य उज्जव भएको देख्न चाहनुहुन्छ भने तपाईंको पुर्खाले नासोको रूपमा तपाईँलाई सुम्पिएको यो स्वाधीन नेपाललाई आउने पुस्तालाई पनि त्यत्तिकै स्वतन्त्र र स्वाधीन रूपमा, अखण्ड रूपमा बुझाउन चाहनुहुन्छ भने टिकटक रिल्स र फेसबुकको पछि लागेर होइन, यर्थाथको धरातल टेकेर हलो चिन्हमा मतदान गर्न म आग्रह गर्न चाहन्छु ।’
नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट बाहिर जान थालेको उल्लेख गर्दै उनले त्यसलाई रोक्न आगामी संसदमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित हुनुपर्ने आवश्यकता औँल्याए ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड