‘पैसाको प्रभावमा घण्टीमा भाेट हाल्नेहरू एकदिन पछुताउने छन्’


धनगढी : प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि पूर्वमन्त्री एवं नेकपाका नेता प्रेमबहादुर आलेले मतदातासँगको भेटघाटलाई तीव्रता दिएका छन्।

निर्वाचनको नतिजा आफ्नो पक्षमा नआए पनि मतदातालाई धन्यवाद दिन उनी यतिबेला वडा–वडामा पुगिरहेका छन्।

यसै क्रममा धनगढी उपमहानगरपालिका–१३ पुगेका आलेलाई स्थानीय मतदाताले भव्य स्वागत गर्दै ढाडस दिएका छन्।

भेटघाटका क्रममा केही स्थानीयले निर्वाचनको अन्तिम समयमा भएको आर्थिक चलखेलप्रति आक्रोश समेत व्यक्त गरे। स्थानीय एक मतदाताले भने, “निर्वाचनको मौन अवधिमा रातारात पैसा बाँडेर जनमत प्रभावित पारियो। पैसा खाएर घण्टीमा भोट हाल्नेहरूले एक दिन पछुताउनुपर्नेछ।”

स्थानीयहरूका अनुसार आलेको लोकप्रियता र विकासप्रेमी छविका कारण निर्वाचनमा उनको पक्षमा राम्रो माहोल थियो। तर, अन्तिम समयमा रास्वपाका उम्मेदवारले आर्थिक प्रलोभन देखाएर नतिजा उल्टाएको उनीहरूको आरोप छ।

पराजयका बाबजुद मतदाताहरूले आलेप्रति देखाएको स्नेह र समर्थनले उनलाई राजनीतिक कार्यमा सक्रिय रहन थप उर्जा मिलेको बताइएको छ।

मतदाताको गुनासो र समर्थन सुनेपछि नेता आलेले आफू पदमा रहे पनि नरहे पनि यस क्षेत्रको सेवा र विकासमा निरन्तर खटिने प्रतिबद्धता जनाए। उनले भने, “हार–जित लोकतन्त्रको एउटा प्रक्रिया हो, तर जनताको सुख–दुःखमा मेरो साथ सधैं रहनेछ।”

यो भेटघाटले निर्वाचन सकिएपछि नेताहरू गाउँ नफर्किने आम प्रवृत्तिलाई तोड्दै मतदाता र नेताबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको विश्लेषण गरिएको छ।

 

 

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ