बिजुवार। प्युठानमा आफन्तको घर बस्न गएका एक महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको घटना सार्वजनिक भएको छ । सरुमारानी गाउँपालिका –३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
हत्या अभियोगमा ऐरावती गाउँपालिका –२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालले जानकारी दिए।
घटना मङ्गलबार बिहान १० बजेर १० मिनेटतिर भएको हो । रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएको थिए। डिलाका अनुसार, लिलबहादुरले रुक्मणीलाई फोन गरी बोलाएको थिए। घरभित्र पुगेपछि उनले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
“मैले कराएँ, नहान्नु भनें, तर सुनेन । आँखै अगाडि छुरा प्रहार गरेर मारे । हारगुहार गर्दा पनि केही उपाय लागेन” डिला परियारले भने। इजरायलमा रोजगाररत लिलबहादुर असार २४ गते घर फर्केका थिए ।
रुक्मणीले गत वैशाखमा दिपक परियारसँग पुनस् विवाह गरेको स्थानीयले बताएका छन् । दीपक १५ दिनअघि कामको सिलसिलामा सङ्खुवासभा गएको थिए । रुक्मणीका लिलबहादुरसँग एक छोरा र एक छोरी नाबालक सन्तान छन् । आमाको हत्या र बुबाको गिरफ्तारीसँगै सन्तानको बिचल्ली भएको छ ।
घटनाको जानकारी पाउनेबित्तिकै बड्डाडा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको टोलीले लिलबहादुरलाई नियन्त्रणमा लिएको डीएसपी बस्यालले जानकारी दिए।
“घटनास्थल सुरक्षित गरिएको छ । अभियुक्त प्रहरी नियन्त्रणमा छन्” डीएसपी बस्यालले भने, “प्रारम्भिक अनुसन्धान अनुसार यो पूर्व वैवाहिक रिसइवीको कारणले भएको हत्या हो, भन्ने देखिन्छ ।” हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





