काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा हालै आएको बाढीले निम्त्याएको जनधनको ठूलो क्षतिप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन्।
बाढीमा परेर १८ जना नेपाली नागरिकसहित दर्जनौं भारतीय नागरिक वेपत्ता भएको समाचारप्रति मर्माहत भएको जनाउँदै अध्यक्ष प्रचण्डले यस दुःखद घडीमा नेपाल भारतको सरकार र जनतासँग ऐक्यभाव प्रकट गरेको बताएका छन्।
“मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यमा बाढीले निम्त्याएको जनधनको ठूलो क्षतिले मर्माहत बनाएको छ। बाढीमा १८ जना नेपाली नागरिकसहित दर्जनौं भारतीय नागरिक वेपत्ता भएको यो दुःखद क्षणमा हामी भारत सरकार र भारतीय जनताको साथमा छौँ,” प्रचण्डले एक विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले वेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको काम शीघ्र सम्पन्न होस् भन्ने कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, नेपाली नागरिकहरूको अवस्था बुझ्न र उद्धारमा समन्वय गर्न नेपाली सरकारसँग आवश्यक पहल गर्न पनि उनले आग्रह गरेका छन्।





