धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हरिराम चौधरी ‘उत्सव’को पक्षमा पछिल्लो समय जनलहर बढ्दो देखिएको छ।
‘उत्सव’ जनयुद्धकालीन पृष्ठभूमिबाट उदाएका युवा नेता हुन्। स्थानीय तहदेखि गाउँ–टोलका कार्यक्रमसम्म सक्रिय उपस्थितिले उनलाई युवा पुस्तामाझ लोकप्रिय बनाएको समर्थकहरू बताउँछन्।
थारु समुदायबाट प्रतिनिधित्व गर्ने उनी सामाजिक न्याय, भूमि अधिकार, रोजगारी र शिक्षा सुधारका मुद्दा लिएर मतदातामाझ पुगेका छन्।
उनका मुख्य प्रतिस्पर्धी लेखराज भट्ट हुन्, जो नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव समेत हुन्। जनयुद्धकालमा सहकर्मी रहेका उत्सव र भट्टबीच यसपटकको प्रतिस्पर्धा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
लेखराज भट्ट यसअघि २०७९ सालको निर्वाचनमा पराजित भएका थिए। अनुभव र संगठन बलका आधारमा भट्ट पुनः चुनावी मैदानमा उत्रिएका छन् भने उत्सव नयाँ ऊर्जा र स्थानीय समर्थनको बलमा अघि बढिरहेका छन्।
कैलाली–४ मा थारु मत निर्णायक मानिन्छ। यस क्षेत्रमा थारु समुदायको उल्लेख्य जनसंख्या रहेकाले उनीहरूको मत परिणाम निर्धारणमा प्रभावकारी हुने आकलन गरिएको छ। यही कारण उम्मेदवारहरू थारु बस्ती केन्द्रित कार्यक्रम, घरदैलो र भेटघाटमा सक्रिय देखिएका छन्।
चुनावी माहोल तातेका बेला दुवै पक्षले विजयको दाबी गरिरहेका छन्। एकातिर जनयुद्धकालीन पहिचान र युवा नेतृत्वको छवि बोकेका उत्सव, अर्कोतर्फ अनुभवी र राष्ट्रिय स्तरका नेता भट्टबीचको प्रतिस्पर्धाले कैलाली–४ लाई यसपटकको चर्चित निर्वाचन क्षेत्र बनाएको छ।





