‘म काम गर्न आएको हुँ’ : प्रेमबहादुर आले


धनगढी, १० फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले आइतबार धनगढी उपमहानगरपालिका-१७ धुरजन्नामा आयोजित टोल भेला कार्यक्रमलाई सम्बोधन गर्दै जनताको मत नै समृद्धिको आधार हुने बताएका छन्।

कार्यक्रममा बोल्दै उनले कैलाली–५ लाई विकास र पूर्वाधारको हिसाबले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे। “म चुनाव जित्नका लागि मात्र होइन, काम गर्नका लागि मैदानमा आएको हुँ,” उनले भने, “यहाँका युवालाई रोजगारी, किसानलाई उचित मूल्य र हरेक टोलमा आधारभूत सेवा पुर्‍याउनु मेरो पहिलो प्राथमिकता हो।”

आफू विगतमा तीन पटक मन्त्रीको जिम्मेवारी सम्हाल्दा गरेका कामको चर्चा गर्दै उनले अनुभव र कार्यसम्पादनकै आधारमा जनताले फेरि अवसर दिने विश्वास व्यक्त गरे।

स्थानीयवासीका समस्या, विशेषगरी सडक, खानेपानी र सिँचाइको विषयमा तत्काल पहल गर्ने उनले आश्वासन दिए।

टोल भेलामा स्थानीय बासिन्दाले विकास, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने माग राखेका थिए। कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीयको सहभागिता रहेको थियो।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ