इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु


सर्लाही। इँटा भट्टा भित्रबाट पोलेको इँटा बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेर थिच्दा तीन मजदुरको मृत्यु भएको छ । इँटा उद्योगमा शुक्रबार दिउँसो दुई नेपाली र एक भारतीय मजदुरको मृत्यु भएको हो ।

सर्लाहीको गोडैता नगरपालिका–७, रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत र भारत लखेमपुरका ३५ वर्षीय अङ्गद कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । सर्लाही इँटा व्यवसायी सङ्घका अध्यक्ष जगर्नाथ रायले सर्लाहीमा पहिलो पटक यस प्रकारको दुस्खद घटना भएको बताए। व्यवसायी वीरेन्द्र चौधरीले हरिपुर नगरपालिका–५, मजुर्वामा सञ्चालन गरेको कृष्ण इँटा उद्योगमा मजदुरको मृत्यु भएको हो । कौडेना गाउँपालिका निवासी चौधरीले मजुर्वामा लामो समयदेखि इँटा उद्योग सञ्चालन गर्दै आएको थिए।

यो वर्ष बारम्बारको बेमौसमी वर्षाले क्षति बेहोरिरहेका सर्लाहीका इँटा उद्योगीले पुनस् अर्को ठुलो क्षति बेहोर्नु परेको छ । यो वर्ष अनेपक्षित रूपमा बेमौसमी वर्षा भएर काँचो इँटा नष्ट गर्दा करोडौँ क्षति बेहोरिरहेका व्यवसायीलाई यो घटनापछि झनै निराश बनाएको रायले बताए। घटनास्थलको प्रकृति हेर्दा चर्को घाम लाग्ने र बेलाबेलामा पानी पर्ने भइरहेकाले इँटा भट्टाभित्र अचानक ग्यास बनेर विस्फोट हुँदा थुपारिएको इँटाको चाङ लडेको इँटा व्यवसायी सङ्घका अध्यक्ष रायको भनाइ छ ।

उनले मृतकको परिवारलाई नियम अनुसार क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । उनले भने, “मृतक मजदुरको परिवारलाई राज्यको नियम अनुसार क्षतिपूर्ति दिन र पीडित व्यवसायीलाई भरथेक गर्न समन्वय गरिरहेका छौँ ।”

पोलेको इँटा धमाधम बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेको समय मजदुर भाग्न नपाएको हुन सक्ने अध्यक्ष रायको भनाइ छ । प्रहरी र इँटा व्यवसायी सङ्घले मृतकको शव परिवारलाई बुझाउन समन्वय गरिरहेका छन् । इँटा उद्योगी चौधरी भने घटनापछि सम्पर्कमा आएको छैन ।

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिव कटेलले इँटा व्यवसायी सङ्घमार्फत नै आफूहरूले पनि मृतकको परिवारसँग समन्वय गरिरहेको जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएका दुई जनामध्ये एक जनाको जनकपुरमा उपचार भइरहेको छ भने एक जना डिस्चार्ज भइसकेका छन् । तीन मजदुरको मृत्यु भएपछि उद्योगपरिसरमा सन्नाटा छाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ